Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रेशमले निर्वाचन आयोग र रञ्जिताविरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुँदै

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी समेत रहेकी पार्टी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा आज आइतबार सुनुवाइको लागि पेशी तोकिएको छ ।

यसअघि अन्तरिम आदेश छलफलको लागि चैत्र ३० गतेको लागि पेशी तोकिएको थियो । तर, उक्त दिन बहस हुन सकेन । आज पनि बहस हुने वा नहुने भन्ने विषय भने अनिश्चित छ । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता नदिएपछि उनी अदालत पुगेका हुन् ।

‘अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने,’ आयोगको निर्णयमा भनिएको छ ।

निर्वाचन आयोगले अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भन्दै गत पुस २७ मा रिट दायर गरेका थिए । नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा बैठक आह्वान गरेका थिए ।

अध्यक्ष रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएकी थिइन् । रेशम पक्षीय उक्त बैठकले ७ दिन भित्र १९५ जनाको नामावली बुझाउने र ३५ दिन भित्र १९५ जनाको नामावली निर्वाचन आयोगमा अद्यावधिक गर्न लगाउने निर्णय गरेको थियो । रञ्जिता श्रेष्ठले अवैधानिक ठहर गरेको बैठकमा नै रेशम चौधरीले नागरिकता लगायतका प्रमाणहरू संकलन गरेर मुद्दा दायर गरेका थिए ।