Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन्।

२६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न आग्रह पनि गरे।

“सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामनामा भनिएको छ। उनले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए। नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ।