Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पुर्याउन केन्द्रित हुनुपर्ने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको उल्लेख गर्दै आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन सञ्चार जगत्ले पनि प्रयत्न गर्नुपर्ने बताए । उनले आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी जनमत निर्माण गर्न पत्रकारसँग आग्रह गरे ।

“सामाजिक आर्थिक रुपान्तरणसँगै विकास र समृद्धि अबको मुख्य कार्यभार हो”, उपप्रधानमन्त्री श्रेष्ठले भने । सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दीगो शान्ति कायम हुन नसक्ने बताए ।

पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उनले भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान रहेको उल्लेख गर्दै उनले जिल्लाको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताए । पेसागत धर्म निर्वाह गरेर काम गर्न पत्रकारलाई सुझाव दिँदै उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक विषयवस्तुलाई जनतासमक्ष ल्याउन आग्रह गरे ।

उनले समाज रुपान्तरणको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई सुझाव दिए । समाजका अध्यक्ष प्रदीपराज वन्तले गोरखाको विकास निर्माणमा समाजले समन्वय र सहजीकरण गर्ने बताए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समाजले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरेका थिए ।