Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गृहमन्त्रीको अघि रोइन् रमिला, कालीबहादुर खाम पक्राउ परे पनि आफू असुरक्षित रहेको गुनासो

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व. श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।

आज बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उनका छोरा रोहन श्रेष्ठले खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गरेका हुन् । गृहमन्त्री लामिछाने सामु भक्कानिएकी रमिलाले हत्या आरोपी खाम पक्राउ परे पनि आफूहरु अहिले पनि असुरक्षित रहेको गृहमन्त्रीसँग गुनासो गरेकी छन् ।

उनीहरुले कुनै पनि राजनीतिक दलहरुको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेको खबरदारी गरे । भेटमा बोल्दै रमिलाले अपराधीलाई राजनीतिक संरक्षणमा छोड्न नहुने बताइन् । यसअघि पनि विभिन्न राजनीतिक दलहरुको संरक्षणमा पटक–पटक छोडिएको भन्दै उनले अपराधीलाई कारबाही गर्न माग गरिन् । श्रीमान् नपाए पनि अब न्याय पाउने आश लागेको उनको भनाइ थियो । उनले खाम पक्राउ परेपछि आफू र परिवारमाथि सुरक्षा चुनौती बढेको बताइन् ।

Ramhari-budi.webp

उनले भनिन्, ‘अपराधी राजनीतिक संरक्षणमा नछुटोस् । पहिला पनि राजनीतिक संरक्षणका कारण पटक–पटक छुटेको रेकर्ड छ । उसलाई कारबाही होस् । मैले श्रीमान नपाए पनि न्याय पाउँ । मलाई न्याय पाउँछु कि भन्ने आश लागेको छ । मन हलुका भएको छ ।’ पीडित परिवारको भनाइ सुनिसकेपछि गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभइ सत्यको आधारमा कारबाही गर्ने बताए । उनले काम गर्न जटिलता भए पनि अपराधीलाई उन्मुक्ति नदिने प्रतिबद्धता जनाए । उनले कसैप्रति आग्रह, पूर्वाग्रह नराखिकन काम गरिरहेको बताए ।

उनले भने, ‘हामीले कुनै राजनीतिक दल हेरेर, कुनै व्यक्तिको शक्ति कहाँ छ भन्ने हेरेर त्यो हिसाबले होइन, हामीले न्याय के हो ? सत्य के हो रु त्यसमा काम गर्ने हो। केही जटिलता छ, काम गर्ने जटिलता छ, समाजमा जटिलता छ । एक जना फेरिने बित्तिकै सबै फेरिने त होइन । समय लाग्छ । इमान्दारीपूर्वक काम गरिरहेका छौँ। हामी सम्पूर्ण रुपमा अनुसन्धान गर्छौं। कसैप्रति आग्रह, पूर्वाग्रह छैन, हामीले सबैलाई कानुनको दृष्टिकोणबाट हेर्नेछौँ । हामीले व्यक्ति जोगाउने होइन, मुलुक र व्यवस्था जोगाउने हो । जनता, न्याय जोगाउने हो ।’ गृहमन्त्री लामिछानेले व्यक्ति जोगाउने नभइ आफू मुलुक, व्यवस्था, जनता र न्याय जोगाउने काममा लागेको बताए । श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका माओवादी केन्द्रका नेता कालीबहादुर खाम चैत २० गते पक्राउ परेका थिए ।