Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

विश्वासको मत लिनुअघि गण्डकीका मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री

विश्वासको मत लिनुअघि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । मुख्यमन्त्री अधिकारीले आज बुधबार बिहान प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । प्रदेशका विकासबारे छलफल भएको अधिकारीले बताएका छन् । तर, अधिकारीले गण्डकीको सत्ताको निकासबारे परामर्श गरेको उनी निकट स्रोतले बताएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालका अनुसार सरकारले विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरे पनि प्रदेश प्रमुख गृह जिल्ला भएकाले परामर्शमा संसद सचिवालयमा पठाउने तयारी छ ।

आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो ।

सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । नेकपा एमाले संसदीय दलका नेता अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’ समेत गरी ३१ जना सांसद पुर्‍याएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।