सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले फरक-फरक गठबन्धनबाट दाबी पेस गरे पनि दुवै दाबीमा निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार फेरि समय दिएका छन्।
मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्तिका लागि स्पष्ट दाबीसहित वैशाख ६ गते अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।
