कर्णालीका दुइ हिमाली जिल्लामा आयोडिन यूक्त नुन लिनका लागि नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नु परिरहेको छ । प्रतिव्यक्ति ५ किलो नुन लिनका लागि अनिवार्य नागरिकता पेश गरेर नुन लिनुपर्ने बाध्यता रहेको छ ।
मुगुमा तीन वटा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका डिपोहरु रहेका छन् । सदरमुकाममा रहेको डिपोमा दुइ हप्ता अघि बन्द गरिएको नुन वितरणको काम फेरी सुरु भएको छ । प्रतिव्यक्ति ५ पोका (५ किलो ) का दरले वितरण हुने भएपछि नुन वितरणको काम सुरु भएको डिपोले जनाएको छ ।
त्यस्तै हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो ।

उनीहरुलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए। प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेस गरेपछि नुन वितरण गरिन्छ । सदरमुकाम सिमकोटमा तीन पालिकासहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८०/८१ का लागि जिल्लामा एक हजार पाँच सय क्विन्टल नुन आइपुगेको छ । जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर वितरण गरिदै आएको छ ।
भिडियो: