Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

दुई तेस्रो लिंगीसहित इलाम–२ मा थपिए ५४७ मतदाता, अब कति पुगे?

यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

अघिल्लो निर्वाचनमा कायम मतदाता संख्याभन्दा यो पाँच सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए । इलाम–२ मा छवटा पालिकाका ४२ वटा वडा छन् ।

 सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० वडाबाहेक) र माई नगरपालिकाका–६, ७ र ८ वडा छन् ।


चुलाचुलीमा १८ हजार पाँच सय ४५, माङसेबुङमा १२ हजार पाँच सय ३६, फाकफोकथुममा १६ हजार तीन सय दुई, देउमाईमा २६ हजार तीन सय ६५, इलाममा (१० वडा बाहेक) ३४ हजार ४५ र माईका– ६, ७ र ८ वडामा आठ हजार ९६ मतदाता रहेका आयोगले जनाएको छ ।

उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।