Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

डाँगीलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ मा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भई उपचारका क्रममा निधन भएका कार्यकर्तालाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

प्रदर्शनका क्रममा घाइते भएका डाँगीको सैनिक अस्पतालमा उपचाररत अवस्थामा सोमबार निधन भएको थियो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारसँग पार्टीको माग राखेका हुन् । ‘ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डाँगीको निधनमा ७७ वटै जिल्ला पार्टी कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने राप्रपाले निर्णय गरेको छ । डाँगी बर्दियाको मधुवन नगरपालिकाको राप्रपा कार्यसमितिका संस्थापक अध्यक्ष थिए । प्रदर्शनमा बल प्रयोग गरेकोप्रति राप्रपाले आपत्ति जनाएको छ ।

प्रदर्शनमा सामान्य घाइते भएकाहरू उपचारपछि फर्किएको र गम्भीर घाइते ६ जना अझै उपचाररत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

434839220_10228927113577054_7325907508409948457_n.jpg