Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मोनालिशा खम्बू नेपालकै पहिलो महिला इन्टरनेसनल आर्बिटर

 हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर (आइए) बन्ने पहिलो नेपाली महिला भएकी छन् ।

नेपाल बुद्धिचाल महासंघकी उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि १३ सम्म भएको काउन्सिलको पूर्ण बैठकले आईए बनाउने निर्णय गरेको बताइएको छ ।

पहिलो महिला राष्ट्रिय खम्बूलाई फिडेको मान्यता प्राप्त चार प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको मापदण्ड पूरा गरेपछि काउन्सिल बैठकले आइएबनाउने निर्णय गरेको हो।

उनी चेसको ओलम्पियाडमा आर्बिटरको जिम्मेवारी निर्वाह गर्ने पहिलो नेपाली महिला हुन् । विश्व विश्व बुद्धिचाल (चेस) मा रेफ्रि-निर्णायकका लागि सबभन्दा ठूलो टाइटल हो–आइए।

सन् २०१३ मा फिडे आर्बिटर(एफए) भएकी उनले फिडे वल्र्ड जुनियर चेस च्याम्पियनसिप २०१९ (नयाँ दिल्ली), एसियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ (काठमाडौं), ४४ औं चेस ओलम्पियाड २०२२ (चेन्नाई) र एसियन ओपन चेस टुर्नामेन्ट २०२३ (हेटौंडा) मा आबिर्टरको भूमिका निर्वाह गर्दै आईएको मापदण्ड पूरा गरेकी थिइन्।

विसं२०६५ र २०७३ सालमा राष्ट्रिय च्याम्पियन भएकी खम्बूको नाममा सबभन्दा उच्च १८७७ फिडे रेटिङमा पुगेको नेपाली महिलाको रेकर्ड पनि छ । फिडे महिला आयोगकी सदस्य पनि रहेकी उनले दुईपल्ट एसियाली खेलकुद (२००६ दोहा, कतार र २०१० ग्वान्जाउ, चीन), तीनपल्ट ओलम्पियाड (२०१४ ट्रोम्सो, नर्वे, २०१६ बाकु, अजरबैजान र २०१८ बाटुमी, जर्जिया) तथा तीनैपल्ट एसियन इन्डोर गेम्स (२००९ हनोई, भियतनाम, २०१३ इन्चोन, दक्षिण कोरिया र २०१७ अस्गबात, तुर्केमेनिस्तान) मा देशको प्रतिनिधित्व गर्दै खेलेकी थिइन् ।

उनले दुई महिनाअघि मात्रै हिमालयन चेस एकेडेमी स्थापना गरेकी छिन् । छोटो अवधिमै एकेडेमीका विभिन्न चार वटा कोर्समा विद्यार्थीले चेस प्रशिक्षण गरिरहेका छन् ।