Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जसपाका पूर्व सांसदमाथि आक्रमण, तीन जना पक्राउ

जनता समाजवादी पार्टी (जसपा) का पूर्व सांसद प्रमोद साहमाथि आक्रमण गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

झगडा छुटाउन गएको बेला सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा पूर्व सांसद साहमाथि गए राति ११ बजे एक समूहले आक्रमण गरेको थियो । उनको टाउकोमा गहिरो चोट लागेको छ ।

आक्रमणमा संलग्न स्थानीय आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य व्यक्तिको खोजी भइरहेको छ ।

‘पूर्व सांसद साहमा मजदुरी गर्ने राजेन्द्र महतो मकै बालीमा पानी हालेर फर्किने क्रममा विवाद भएको थियो’, डिएसपी श्रेष्ठले भने, ‘झगडा छुटाउन पूर्व सांसद साह पुगेपछि उनैमाथि आक्रमण गरियो ।’ पूर्व सांसद साहले आक्रमणमा संलग्नहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन् ।

आक्रमणबाट घाइते साहको सुरुमा हरिपुरकै अमृत हेल्थकेयरमा उपचार भएको थियो । त्यसपछि साह आफै थप उपचारको लागि भन्दै आइतबार दिउँसो जनकपुर गएका प्रहरीले जनाएको छ ।