Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

खानेपानी कार्यालय मुगुका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच लाख हिनामिना गरेको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख राजीव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले आयोजनाको पाँच लाख ६१ हजार ४८१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा सोही कार्यालयका सबइन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही छन् । आर्थिक वर्ष २०७८/७९ मा सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारी समेतको मिलेमतोमा रकम हिनामिना गरिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

उनीहरूले सोरु गाउँपालिका–५ स्थित नेर सिँचाइ आयोजनाको काम गर्दा पाँच लाख ६१ हजार ४८१ रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूसँग पाँच लाख ६१ हजार ४८१ रुपैयाँ बिगो दाबी गरिएको छ ।