Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

वानएक्स बेटबाट अनलाइन जुवामा संलग्न तीन जना पक्राउ, ५७ करोड रुपैयाँको कारोबार

अनलाइन सट्टेबाजी अनलाइन एप वानएक्स बेटमार्फत रकम लेनदेनमा सक्रिय रहेको आरोपमा प्रहरीले सर्लाहीको मलंगवाका तीन युवकलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मलंगवा–९का ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र मलंगवा–१० का राकेश चौधरी छन् । उनीहरुले बेटिङसँगै क्रिप्टो करेन्सीसहित विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपीएस खाता खोलेर ९८ वटा बैंक लिंक गरि ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट विभिन्न कम्पनीका ९ थान मोबाइल सेट, २१ वटा सिम कार्ड, दुइटा ल्यापटप, डेस्कटप कम्प्युटरको एउटा सीपीयू, नगद ६२ हजार, विभिन्न् सहकारीका ११ थान पासबुक, बैंकका १६ थान चेकबुक, ११ वटा डिपोजिट भौचर बरामद भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।  

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक हित, स्वासथ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत कारबाही अघि बढाइने जनाइएको छ । तीनै जनालाई अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।