Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सुदूरपश्चिममा सरकार दावी गर्ने समय आज सकिंदै, रेशम–रञ्जिताको झगडाले अन्योल

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको पनि दावी

सुदूरपश्चिम प्रदेशमा सरकार गठनको दाबी पेश गर्ने आज आइतबार अन्तिम दिन अहिलेसम्म पनि दलहरूबीच ठोस सहमति हुन सकेको छैन । प्रदेश प्रमुख नजिर मियाँले २३ गते संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढि दलहरू मिलेर सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ बजे सम्मको समय दिएका थिए । प्रदेश प्रमुखले दिएको समय आज सकिँदै गर्दा पनि दलहरू बीचको विवाद र अडानका कारण अन्योल बढेर गएको छ ।

एमाले माओवादीसहितको सत्ता गठबन्धनमा अहिलेसम्म नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भद्र सहमति भएको बताइएको छ । तर, नेकपा एकीकृत समाजवादीले पनि आफ्नो दाबी कायमै राखेको छ । नागरिक उन्मुक्ति पार्टीभित्रको तीव्र विवादले मुख्यमन्त्रीको लिखित सहमति हुन ढिलाइ भइरहेको नेताहरूले बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ । कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त छिन् । यहाँ बहुमत पुर्‍याउन २७ सांसद चाहिन्छ । नयाँ सत्ता गठबन्धनका सभामुख बाहेक माओवादी केन्द्रका १०, एमालेका १० नाउपाका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । स्वतन्त्र सांसद डा।तारा जोशी पनि यही गठबन्धनमै रहन चाहने बताइन्छ । यसरी बहुमत पुग्छ तर, नाउपाको विवाद सुल्झिनुको सट्टा झन बढेर गएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा नाउपाका ७ सांसदमध्ये ५ जना रेशम निकट थिए । तर यीमध्ये रेशम निकट समानुपातिक सांसद इन्दिरा गिरी र दल नेता घनश्याम चौधरीलाई रञ्जिताले कारबाही गरिसकेकी छन् । इन्दिरालाई सांसद पदबाट बर्खास्त गरिएको छ भने घनश्यामलाई तीन महिनाका लागि निलम्बन गरिएको छ । तर घनश्यामका विषयमा प्रदेश सभाले निर्णय गरिसकेको छैन ।

त्यसअघि घनश्यामलाई नाउपा सुदूरपश्चिम संसदीय दलको नेताबाट हटाएर उनको स्थानमा रञ्जिताले आफूनिकट कैलाश चौधरीलाई ल्याइसकेकी छन् । रञ्जिता समूहमा २ सांसद मात्र छन् । सरकारमा दाबी पेश गर्न ढिलाइ भइरहेको माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताएका छन् । ‘अहिलेसम्म पनि नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद मिलेको छैन, त्यही कारण ढिलाइ भइरहेको हो’, उनी भन्छन्, ‘छलफल भइरहेको छ, आज सबै कुरा टुङ्गो लाग्छ ।’

नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री पाउँदा कसलाई बनाउने भन्ने विषयमा विवाद चर्किएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने भन्दै अघि सारेकी छन् भने चार सांसदले लक्ष्मण किशोर चौधरीको नाममा सहमति गरेका छन् । यता नेकपा एकीकृत समाजवादीले पनि नाउपाभित्र विवाद रहेको र सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो मुख्यमन्त्री हुनुपर्ने अडान राखेको छ ।

एमाले र माओवादी भने सुदूरपश्चिम प्रदेशमा नेतृत्व गर्ने भन्ने विषयमा लागेका छैनन् । एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने, ‘हामी मुख्यमन्त्री बन्ने भन्ने रेसमा छैनौँ हामीलाई विकास गर्नु छ । समृद्धि ल्याउनु छ ।’ प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज सकिनै लाग्दा पनि अझै सम्म मुख्यमन्त्री कुन दलले पाउने भन्ने ठोस सहमति नहुँदा गठबन्धन भित्रै पनि छलफल र बहस हुन सकेको छैन । अहिले ८ बजे बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरू बसेर यस विषयमा टुङ्गो लगाउने नेताहरूले दाबी गरेका छन् ।