Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण आवश्यकः माधव नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलकाबीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्ने बताएका हुन् । सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि आवधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व मननीय रहेको बताउँदै उनले सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले देशविदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य तथा सुखशान्तिको कामना गर्दै जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रुपान्तरणका माध्यमबाट आममानिसको हितमा काम गर्नुपर्ने बताए ।