Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

ग्रामीण विकास लघुवित्तका कर्मचारीविरुद्ध १९ लाख भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा साविकको मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवनका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बैंकका कर्मचारीले कीर्ते सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाइ जग्गा खरिद गरेको लगायतका विषयमा आयोगमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा उनले १९ लाख २ हजार २३७ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको आयोगको दाबी छ ।

यस्तै पशु कर्जा-धितो कर्जा दिँदा कमिसन खाएको, धितो राखिएको जग्गा रोक्का नगर्ने धितो फुकुवा भएको पनि बाँकी देखिएको आयोगले जनाएको छ । आयोगले १९ लाख २ हजार २३७ रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवानाका साथै बिगो जफत र कैद सजायको मागदाबी गरेको छ ।