Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गृहमन्त्री लामिछानेले गरे गढीमाईमा पूजापाठ

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने आज (बिहीबार) बाराको गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् । धनुषाको जनकपुरधामस्थित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा सहभागी भई फिर्ता आउने क्रममा बिहीबार बिहान गढीमाताको विधिवत् पूजापाठ गरेको मूल पुजारी मङ्गल चौधरीले जानकारी दिए ।

गृहमन्त्री लामिछानेको आजै अर्को कार्यक्रम वीरगञ्जस्थित होटेल कलार्क रिसोर्टमा मधेश प्रदेशको सुरक्षा तथा छिमेकी (मित्र) राष्ट्र भारतमा हुन लागेको २०२४ को लोकसभा चुनावमा दुई मुलुकबीचको सीमा नाकाको अवस्थाबारे विशेष जानकारी लिन उच्च सुरक्षा समितिको बैठक बोलाइएको बाराका प्रहरी प्रवक्ता दघिराम न्यौपानेले बताए ।

सो बैठकमा मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी प्रमुख, सेना र राष्ट्रिय अनुसन्धानका उच्च सुरक्षा पदाधिकारीलगायतका सहभागिता रहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

गत एक सातादेखि मधेश प्रदेशका विभिन्न क्षेत्र तथा बारा, पर्सा, रौतहटका जिल्लाहरूमा अर्थमन्त्री, मन्त्री र सशस्त्र प्रहरीका महानिरीक्षकलगायतका प्रमुखहरूको आवागमन विशेष रूपमा हुने गरेको छ ।