Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

ज्ञानेन्द्र शाहीको प्रश्न: यो देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वर्तमान गृहमन्त्री सञ्चारकर्मी हुँदा आफूले बोलेको कुरा आज बिर्सिएको भन्दै कटाक्ष गरेका छन् । वर्तमान गृहमन्त्री रवि लामिछाने सञ्चारकर्मी हुँदा माइतीघरको निषेधाज्ञा हटाउनुपर्छ भन्दै बोलेको तर आज आफूहरुले आन्दोलन गर्न खोज्दा त्यहाँ बल प्रयोग गरेको भन्दै आक्रोश व्यक्त गरे ।

मंगलबार आफूहरुले आन्दोलन गर्दा बल प्रयोग गरेको भन्दै देशको संविधान ठूलो की गृहमन्त्री ठूलो भन्दै प्रश्न समेत गरेका छन् । ‘उहाँले हिजो टेलिभिजनबाट २ औँला खडा गरेर बोल्नुभएको थियो । जनताको आवाज राख्न नदिने रु माइतीघर मण्डला पनि निषेधित गर्ने? भनेर बोल्दै गर्दा तल फेसबुक मैले पनि कमेन्ट लेखेको थिएँ, वाउ रवि लामिछाने ! तर आज देशको गृहमन्त्री हुँदै गर्दा त्यही माइतीघर मण्डला उहाँले निषेधित बनाउनुभएको छ । आज भद्रकालीको मन्दिर समेत निषेधित बनाउनुभएको छ । यो देशको संविधान ठूलो कि यो देशको गृहमन्त्री ठूलो?’ उनले भने ।

त्यस्तै सरकारले जनताको आवाज थुन्न माइतीघर लगायतका सार्वजनिक क्षेत्रमा निषेधाज्ञा जारी गरेको आरोप लगाए । त्यस्तै सरकारले संवेदनशील क्षेत्र बाहेक अन्य ठाउँमा निषेध गर्र्दैगर्दा भोलि सभामुख र सांसदको घर र शौचालय पनि निषेधाज्ञा गर्न सक्ने टिप्पणी गरे ।

‘निषेधाज्ञा कहाँ गर्ने भन्ने थाहा छ की छैन? सम्माननीय सभामुख महोदयको घर मात्र होइन हामी सांसदको घर पनि निषेधाज्ञा सरकारले भन्देला । हुँदाहुँदै बाथरुम पनि निषेज्ञाधा भन्देला । निषेधाज्ञा कहाँ हो? सिंहदरबार निषेधाज्ञा हो, संविधानसभाको भवन निषेधाज्ञा हो, रत्नपार्क निषेधाज्ञा हुन्छ? भृकुटीमण्डप निषेधाज्ञा हुन्छ ? भद्रकालीको मन्दिर निषेधाज्ञा हुन्छ?’ शाहीले भने ।

त्यसैगरी २०४७ साल भन्दा यता लाभको पदमा पुगेकाहरुको सम्पती छानबिन गर्न अन्य दलका सांसदहरुले आवाज उठाइरहेको बताउँदै अहिले बोलेर मात्र नभइ व्यवहारमा लागू हुने गरेर त्यसको थालनी तत्कालै गर्न समेत आग्रह गरे ।