Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री, मन्त्री, सांसद, नेता सबैको सम्पति छानबिन गरौंः गगन थापा

नागरिकहरूलाई राज्यसँग भर होस्, गलत गरेकालाई राज्यसँग डर होस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४७ सालपछि नेपालको राजनीतिक र प्रशासनिक नेतृत्व लिएकाहरू सबै जबाफदेही हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्रीलगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।

कानून र संस्थालाई बलियो बनाएर यसबीचमा सांसददेखि मन्त्री र प्रधानमन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने थापाले बताए । संसदमा पछिल्लो समय ०४७ यताका सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने कुरा उठेको र यो विषय सकारात्मक भएको थापाले बताए । तर यसका लागि कानून आवश्यक रहेको उनको भनाइ छ । कानून बनाउन आफूले पनि संशोधन हालेको थापा बताउँछन् ।

‘कांग्रेस, एमाले, माओवादी अध्यक्षको, अहिलेको प्रधानमन्त्रीको, पूर्व प्रधानमन्त्रीको, हामीजस्ता मन्त्री भएका मानिसको सम्पत्ति छानबिन गरौं,’ काठमाडौंको चाबहिलस्थित पशुपति मित्र माविको हीरक महोत्सवमा बुधबार महामन्त्री थापाले भने, ‘जति पनि ठूला काण्ड र प्रकरण छन् ती सबैमा जिम्मेवार मानिसलाई कहीं न कहीं दण्ड पाउनुपर्छ भनेर डर सिर्जना गरौं ।नागरिकहरूलाई राज्यसँग भर होस्, गलत गरेकालाई राज्यसँग डर होस् ।’

सार्वजनिक सम्पत्ति अपचलन र सहकारी प्रकरणमा मुछिएकाहरूमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने उनले बताए । ‘अस्तीसम्म यहीं कपनको कार्यक्रममा सहकारीविज्ञ भनेर आइराख्नु भएको थियो केबी उप्रेती । आठ अर्ब खाएर भाग्नु भएछ, पत्रिकामा दुई दिनअघि आएको छ,’ थापाले थपे, ‘आठ अर्ब खाएको मानिस विज्ञ भएर गाउँ–गाउँमा भाषण गरिरहेको छ ।’

अरब–अरब खाएर भागेका मानिसलाई कारबाही गर्न विभिन्न अड्का र निकाय भए पनि कारबाही नभएको उनले बताए । राजनीतिक दलका र जतिसुकै शक्तिशाली भए पनि गलत ग¥यो भने दण्ड पाउँछ भन्ने कुरा स्थापित गरिनुपर्ने उनले बताए ।