Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

आगो निभाउने क्रममा सिकिस्त भएका थप दुई सैनिकको निधन, एकको उपचार हुँदै

डोल्पा दुनैको ठुलीभेरी नगरपालिका-४ तिप्लामष्टाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिकिस्त भएका ४ जना सैनिकमध्ये ३ जनाको मृत्यु भएको छ।

सोमवार जुम्लाको तातोपानी गाउँपालिका-४ स्थायी घर भइ देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको मृत्यु भएको थियो भने मंगलवार देविदत्त गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जम्दार केशव बहादुर दर्जा मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको उपचारका क्रममा मृत्यु भएको हो।

उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।उनीहरूलाई नेपाली सेनाको हवाई साधनबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अहिले घाइतेमध्ये एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

आइतवार भएको आगलागी निभाउने क्रममा घाइते भएका ४ जनामध्ये सोमवार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत आशिष बुढा र विजय कोइरालालाई नेपालगञ्जस्थित भेरी हस्पिटल पठाइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि घाइतेहरुलाई काठमाडौँ पठाइएको थियो। 

मृतक रावतको शव मंगलवार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उनको गृह जिल्ला जुम्ला पठाइएको छ। आगोमा जलेर सिकिस्त भएका प्यूठ विजय कोइरालाको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। आइतवार लागेको आगो सोमवार पुनः सल्किएपछि देविदत्त गुल्म भदालेमा कार्यरत नेपाली सेनाका १६ जनाको टिम सोमवार विहान आगो निभाउन गएको थियो।

आगो निभाउने क्रममा घाइते भएका अरु १२ जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ। यस वर्ष देशका करिब ८ सय ठाउँमा भइरहेका आगलागी नियन्त्रण गर्न १२ हजार ५ सय सैनिक परिचालित भएको नेपाली सेनाले जनाएको छ।