हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा उपाध्यक्ष लिलाबहादुर गुरुङसहित तीनजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेर ठगीको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
यस सहकारीका अध्यक्ष भने गितेन्द्रबाबु (जीबी) राई छन् । उनी फरार सूचीमा छन् । त्यस्तै, यस सहकारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको पनि नाम जोडिएको छ । अर्याल यसअघि उपाध्यक्ष भएर काम गरेका थिए भने बुर्लाकोटी सञ्चालक समितिमा थिए ।
सीआईबी उच्च स्रोतका अनुसार पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समिति सदस्य रामहरि अधिकारी छन् ।
उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।