Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कांग्रेस अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । आज मंगलबारको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गरेको थियो ।

कांग्रेसका सांसदहरू उठेसँगै सत्तारूढ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले पनि उठेर बैठक अवरोध गरेका थिए । बैठक अवरोध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि उनी दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटे पनि उक्त छलफलमा सहमति हुन सकेन । सहमति नजुटेपछि सूचना टाँसेर भोलि ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आज बिहान बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि कांग्रेसले अवरोध गरेको हो । सबै दलहरू आ–आफ्ना अडानमा टसमस नभएपछि सहमति जुट्न नसकेको हो ।

बैठकमा प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति लामिछाने, प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापालगायतका नेताहरू थिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन अडान राखिराख्दा एमाले, रास्वपा, माओवादी केन्द्र छानबिन समिति बनाउन नसकिने अडानमा रहेका थिए ।