Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ बढ्ने प्रयास गरेपछि राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप

निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गरेका थिए । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो ।

सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ । प्रहरीले रोक्नका लागि राखेको रेलिङको बार तोडेर अघि बढ्ने प्रयास गरेपछि बल प्रयोग भएको थियो । प्रहरीले पानीको फोहोरासहितको प्रयोग गरेपछि आन्दोलनकारी तितरवितर भएका छन् ।

पानीको फोहोरामा राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि परेका छन् । प्रहरीले निरन्तर पानीको फोहोरासहित आन्दोलनकारीलाई पछि हटाउँदै सहिदगेट कटाएको छ ।