Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कांग्रेसको चट्टानी अडानले बालुवाटार बैठकमा जुटेन सहमति

संसदमा जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुसँगको वार्ता विफल भएको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेसहित राजनीतिक दलका शीर्ष नेताहरु छलफलका लागि पुगेका थिए । तर उक्त बैठकमा कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन समिति बनाउने अडान कायम राखेकाले सहमति हुन नसकेको हो ।

बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री गगन थापा सहितका नेताहरु सहभागि रहेका थिए ।

बैठकमा कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि सहमति हुन नसकेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेको विषयमा छानबिन गर्न समिति बनाउने माग अघि सार्दै निरन्तर संसदमा अवरोध गर्दै आइरहेको थियो । त्यसो त सोमबार पनि प्रधानमन्त्री र सभामुखले शीर्ष नेताहरुसँग छलफल गरेका थिए । तर कांग्रेसले आफ्नो अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्नो अडान कायम राख्ने निर्णय गरेको थियो । बालुवाटार बैठकमा सहमति नजुटेपछि सभामुख घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल थालेका छन् ।