Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सैनिक मञ्च टुडीखेलमा मनाईयो घोडे जात्रा

सैनिक मञ्च टुडीखेलमा आज बिभिन्न कला प्रर्दशन गरी घोडे जात्रा मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा आज सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो ।

जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । उक्त समारोहमा सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरेको थियो । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको तथा पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरेका र राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयबासीमा रहिरह्यो यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनविश्वास रहेको छ ।

सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रुखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने गरिन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीबासीमा रहेको छ ।