नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।
गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले गत चैत २१ गते पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहेकी इन्दिरा गिरीलाई कारबाही गरेकी थिइन् । समानुपातिक सांसद गिरीलाई पदबाट बर्खास्त गरिएको पत्र रञ्जिताले प्रदेश सभामा पठाएकी थिइन् । काठमाडौंमा रहेका नाउपाका प्रदेश सांसदहरू कारबाहीको पत्र लिएर धनगढी पुगेका थिए ।
पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको र स्पष्टीकरण माग्दा नदिएकाले गिरीलाई कारबाही गरिएको थियो ।
२१ फागुनमा सत्ता गठबन्धन फेरबदलसँगै पतिसमेत रहेका पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच मतभेद अझै जारी छ । कांग्रेससँग सहकार्य गर्ने पक्षमा रहेका रेशमले अध्यक्ष रञ्जिताको निर्देशनविपरीत सुदूरपश्चिम सरकारमा ५ जना सांसदलाई मन्त्री बनाएर पठाएका थिए ।
रञ्जिता भने नयाँ सत्ता गठबन्धनमा सहभागी हुनुपर्ने पक्षमा थिइन् । नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सांसदमध्ये सुदूरपश्चिम सरकारमा ५ जना मन्त्री थिए । रञ्जिताको निर्देशनविपरीत सरकारमा रहेका अन्य ४ मन्त्रीलाई भने कारबाही गरिएको छैन । नाउपा संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिलामन्त्री छन् । भूमि व्यवस्था तथा सहकारीमन्त्री रामेश्वर चौधरी, सामाजिक विकासमन्त्री लक्ष्मणकिशोर चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री खुसीराम डगौँरा नाउपाबाट सुदूरपश्चिम सरकारमा प्रतिनिधित्व गर्छन् ।
