Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नेपाल इन्जिनियरिङ कलेज घोटालाः लम्बोदरको १२ करोड ४४ लाख रुपैयाँ अवैध ठहर

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन् । २०७८ सालमा न्यौपानेसहित नौं जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ । न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप थियो ।

उपेन्द्र गौतममाथि दुई करोड २९ लाख, लबराज भट्टराईविरुद्ध दुई करोड ७९ लाख र सूर्यबहादुर केसी (मृत्यु) विरुद्ध दुई करोड ३४ लाख, हरिप्रसाद पाण्डेविरुद्ध दुई करोड ४३ लाख र दीपक भट्टराई (मृत्यु) विरुद्ध ३६ लाख ५९ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग थियो ।

त्यसबेला विभागले मृतक दुवै जनाको परिवारका सदस्यहरूलाई समेत विपक्षी बनाएर उनीहरूको सम्पत्ति जफत हुनुपर्ने माग गरेको थियो । कलेजको सम्पत्ति हिनामिना गरेर व्यक्तिगत लाभ लिएको आरोपमा लम्बोदरविरुद्ध मुद्दा हालिएको थियो । न्यौपानेलाई ठगी मुद्दामा पनि चलेको थियो । न्यौपानेले दिएको घुस लिएपछि विवादमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका थिए ।