Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

अब श्रम स्वीकृति एक घण्टामैं

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेका लागि कामदारको श्रम स्वीकृति एक घण्टामै पाइने व्यवस्था गरेको छ । विभागीय मन्त्री डोलप्रसाद अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमार्फत यो घोषणा गरेका हुन् ।

सबै कागजात अनलाइन सिस्टममा मिलाएर अपलोड गरेका सेवाग्राहीले एक घण्टाभित्रै श्रम स्वीकृति मोबाइल फोनमार्फत प्राप्त गर्ने उनले बताए ।उनले भने, ‘समयमा सबै डकुमेन्टहरु मिलाएर राख्नुभएको खण्डमा हाम्रो अहिलेको अध्ययनले २ मिनेट ४४ सेकेण्डमै उहाँले श्रम स्वीकृति पाउनेगरि हामीले काम गर्‍यौं । तर कहिलेकाँही कम्प्युटर सिस्टममा ढिलाइ हुने भएकाले त्यसलाई पनि मध्यनजर गरेर हामीले एक घण्टा भनेका छौं । कुनै पनि श्रमिकले आफ्नो डकुमेन्टहरु मिलाएर अनलाइनमा राखेको खण्डमा आफ्नो श्रम स्वीकृति आफ्नै मोबाइलफोनमार्फत प्राप्त गर्न सक्नुहुन्छ ।’

विगतमा विदेश जानुपर्ने बाध्यतात्मक अवस्थाका श्रमिकलाई श्रमस्विकृति मिलाइदिने प्रलोभनमा ठगीका घटनाहरु भएका छन् । यस्तो घटना हुन नदिन आफैंले प्रक्रिया पुरा गर्दा छिटो श्रम स्वीकृति पाइने सिस्टम सञ्चालनमा ल्याइएको उनले बताए ।

उनले भने, ‘सारा नेपालीहरु जनता, जो दुःखमा आफ्नो परिवार पाल्न र बालबच्चा पढाउन अनि आमाबुवाको उपचारको लागि विदेश जानुपरेको छ । यो बाध्यतात्मक अवस्थामा, विदेश जान्छु भनेर काठमाडौं आउने गरिब नागरिकलाई केही मान्छेहरुले उहाँहरुलाई अझ गरिब बनाउनेजस्ता, मिटरब्याजजस्ता विभिन्न स्रोतबाट पैसा जम्मा गरेर, ती मान्छे जसले चाहिँ श्रम स्वीकृति मिलाइदिन्छु भनेर, जुन पीडामाथि पीडा थप्ने काम भइरहेको थियो, इतिहास भइरहेको छ, त्यसलाई अन्त्य गर्नको लागि यो टिमले जुन काम गर्नुभयो, सबै श्रेय उहाँहरुलाई जान्छ ।’

आफूले गरेको अध्ययनले फेनिस सफ्टवेयरको समस्याका कारण विगतमा १५ दिनजतिमा मात्रै श्रम स्वीकृति पाइने गरेको तथ्य पत्ता लगाएको पनि उनले बताए ।