गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का खगराज अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका छन् ।
आइतबारै यसअघि उनले एमालेका २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित आठ र दीपक मनाङे एक गरी ३१ प्रदेशसभा सदस्यको आफूलाई समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
गएको चैत २१ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका निम्ति चैत २७ गतेसम्मको समय दिएका थिए । यो उपधाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्छन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । तर, माओवादीले सभामुख कृष्ण धिताललाई पनि आफ्नो सांसद भन्दै अधिकारीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको हो ।