Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

जुंगा कालो हुँदै गएका, कपाल पलाएका तर बुद्धि नपलाएका नेताले देश बिगारेः घनश्याम भूसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले देशको वर्तमान अवस्था बिग्रनुको प्रमुख कारण नै जुंगा कालो हुँदै गएका, कपाल पलाएका तर बुद्धि नपलाएका नेता रहेको आरोप लगाएका छन् ।

शनिबार पार्टी निकट युवा संघ नेपाल कास्कीको ११औं जिल्ला अधिवेशनलाई सम्बाधेन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  ‘हिजो एउटा ठूलै नेता आएर पोखरामा भनेछन् । मेरो जुंगा कालो हुँदै गएका छन् । कपाल पलाउन थालेको छ भनेछन् । देशको यो अवस्था हुँदा कपाल पलायो, जुंगा काला भए भन्नुको अर्थ के हो ?’ उनले प्रश्न गरे ।

पोखरामा शुक्रबार केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालमाथि कटाक्ष गर्दै आफ्नो जुंगा कालो हुँदै गरेको र कपाल पलाएको प्रसंग कोट्याउँदै ‘अब २० वर्ष कसैले हल्लाउन सक्दैन’ भनेका थिए ।

केपी ओली नेतृत्वको नेकपा एमालेले देशका समस्या सामाधान गर्छ भन्नु दिउँसै रात पार्नु सरह भएको भूसालले टिप्पणी पनि गरे । उनले ‘जबसम्म एमालेमा केपी ओली गुटको नेतृत्व रहन्छ त्यतिबेलासम्म एमालेलाई लैजाने भनेको नर्ककै बाटो हो’ भनेका छन् ।

उनले यसो भन्दा आफूलाई खुशी भने नलाग्ने धारणा राखे । ‘त्यो आसाधारण शक्ति भएको कम्युनिष्ट पार्टीलाई छिन्नविन्न पार्ने, कुनै गल्ति कम्जोरीको महसुस् नगर्ने र अझै नेताहरुको मानमर्दन गर्ने केपी ओली गुटको नेतृत्वको एमालेले यो देशको तमाम समस्या समाधान गर्छ भन्नु दिउँसै रातपार्नु हो ।’ उनले भने ।

जनताको विश्वास माथि केपी ओलीले गरेको अपराधको मूल्य मुलुकले चुकाइरहेको उनले सुनाए । ‘त्यो नेतृत्व जो हिजो पनि आएर दुनियाँलाई हेप्दैछ । पाटी उहाँको दाइजो हो ? उहाँको जिमिन्दारी हो ? जुन एमाले हिजो उहाँले चालाउनुभयो । आज जसरी चलाउनु हुँदैछ । त्यो नेतृत्वले देश चलाउँछु भन्ने कुरा बकवास बाहेक केही हुनैसक्दैन’ उनले भने ।

महासचिव भूसालले एमाले अध्यक्ष ओलीले प्रचण्डलाई, माधव नेपाललाई, झलनाथ खनाललाई र केही सांसदलाई ठिक पारे भन्ने लागेको हुनसक्ने भन्दै ओलीले अपराध नगरेको भए आज देशमा धेरै कुरा ठीकठाक भइसकेको हुने विश्लेषण सुनाए । ‘यत्रो जनमतलाई चितुवाले बाख्रो घिसारे झैं एमालेलाई घिसारेर सक्दै हुनुहन्छ । राष्ट्रिय राजनीतिमा गरेका त्यत्रा तमाम अपराध माथि त्यो पार्टीमा प्रश्न गर्ने हैसियत कसैले राख्दैन’ उनले भने ।

नेपाली कांग्रेसले झनै यो देशको समस्या समाधान गर्न नसक्ने उनले बताए । कांग्रेसको कुनै नीति र योजना नै नरहेको उनले आरोप लगाए । ‘कांग्रेसलाई १८ वर्ष पुगेपछि भोट हाल्न पाइन्छ भने पुग्छ । देशमा देखिएका तमाम समस्या कसरी समाधान गर्ने भन्यो भने समयले आफै समाधान गर्छ भन्छ । खुल्ला अर्थतन्त्रमा सबै प्रतिस्पर्धा हुन्छ भन्छ । सरकारी उद्योग कलकारखाना बेच्छ । अनि ठिक गर्यौं भन्छ । त्यस्तो पार्टी मुलुकका समस्या समाधान गर्ने कुरै भएन’ उनले भने ।

माओवादीले सबै पुराना संरचनालाई हल्लाएको टिप्पणी गरेका उनले देशका विद्यमान समस्या समाधान माओवादीले माओवादी भएर हल गर्न नसक्ने ठोकुवा गरे । ‘माओवादीले देशका पुराना संरचना एक पटक सबै हल्लायो । तर, अब उसले सक्दैन । माओवादीको समस्या नै माओवाद हो । उसले तत्काल त्यसलाई छाड्ने सम्भावना पनि देखिँदैन’ उनले भने ।

आफ्नो पार्टी एकीकृत समाजवादी सानो मात्र नभएर देशको राष्ट्रिय पार्टी पनि बन्न नसकेको सुनाएका उनले देशका समस्या समाधानको उपाए भने आफ्नो पार्टीसंग रहेको दाबी गरे ।