Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

२० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ - केपी ओली

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको दाबी गरेका छन्।

शुक्रवार एमाले जिल्ला कमिटी कास्कीको ११औं जिल्ला अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै ओलीले नयाँ सत्ता समीकरणमा एमाले पनि रहकाले आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए। उनले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

देशलाई राम्रो बाटोमा लैजाने अभिभारामा आफूहरु सफलतापूर्वक अघि बढेको ओलीको जिकिर थियो। उनले केही समयअघि एमाले बिनाको नेपाल र ओली बिनाको एमालेको कल्पना गरेको भन्दै उनीहरुप्रति दया लागेर आउने टिप्पणी गरे। एमाले र देशलाई ठिक बाटोमा अघि बढाउन अझै २० वर्ष आफूले सक्रिय भएर काम गर्ने ओलीको भनाइ थियो।

‘कसैले एमाले बिनाको नेपाल भने, कठै बर । माया लाग्छ, एमाले बिनाको नेपाल । कसैले केपी ओली बिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिए, यसो गथ्र्यौं, उसो गथ्र्यौं, लाग्या होला, ओलीले अगाडि भने, ‘मैले पोहोर परार भनेको थिएँ नि, जुँगा अलि काला काला हुन थाले भनेर। अहिले मेरो कपाल सबै झरेको थियो, पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको छ । मैले भने नि २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ ।’

अध्यक्ष ओलीले आगामी चुनावमा एमाले एक्लैको बहुमत आउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए।