गण्डकीका सांसद फणिन्द्र नेसपाकै भएको दाबी
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सांसद पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।
प्रचण्डले चुनावपूर्वको गठबन्धनलाई अर्को निर्वाचनभन्दा पहिले छाड्नु राजनीति र नैतिक हिसाबले उपयुक्त नभएको उनको टिप्पणी छ । ‘प्रचण्डजीले चुनाव पूर्वको गठबन्धनलाई अर्को निर्वाचनभन्दा पहिले छोड्नु त राजनीति र नैतिक हिसाबले उपयुक्त हुँदैन । उहाँले त्यसलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभएको छ’, बिहीबार गोरखा पुगेका अध्यक्ष भट्टराईले भने, ‘तीनिहरूलाई त धोका दिएको ठहर्छ । त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’
उनले प्रचण्ड चुनावदेखि चुनावसम्म मात्रै गोरखा आएको उल्लेख गर्दै आफू सधैँ जनतासँगै भएको जिकिर गरे । उनले थपे, ‘गोरखाकै जनतासँग सँगै छु तर प्रचण्ड त चुनावदेखि चुनावसम्म मात्रै रहेछन् भन्ने जनताको गुनासो छ त्यसैले म आफैँ उठ्छु भनेको छैन, तर सधैँ चुनाव उठ्दिनँ पनि भनेको छैन । यो त भोलिका परिस्थितिमा निर्भर रहने कुरा हो ।’ उनले गण्डकी प्रदेशमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर जितेका फणिन्द्र देवकोटा आफ्नै पार्टीको सांसद भएको दाबी गरेका छन् ।