Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

अब मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने

मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ अब प्रधानमन्त्रीलाई गर्नुपर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए । 

‘सबै मन्त्रीहरुले प्रत्येक दिन गरेको कामको ब्रिफिङ बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्छ’, राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, यसले सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ ।’

मन्त्रिपरिषद्को बैठकमा कर्मचारीहरु किन निर्णय गर्न डराउँछन् भनेर समेत गम्भीर छलफल भएको उनले बताए । सरकारले तदारुकताका साथ विकास निर्माण, सेवा प्रशासनलगायत काम दृढताका साथ गर्न खोजे पनि प्रशासन र कर्मचारीमा जाँगर आएको छैन भन्ने विषयमा आजको मन्त्रिपरिषद्को बैठकमा छलफल भएको बताए ।

कर्मचारीहरूलाई के कारणले निर्णय लिनुभन्दा नलिनु राम्रो लाग्न थालेको हो भन्ने विषयमा पनि छलफल भएको उनले बताए । कर्मचारीलाई दोष दिएर मात्रै नहुने उनको भनाइ छ । राजनीतिक र प्रशासनिक तहमा यसबारे खोजी गर्नुपर्ने बताए । साझा संकल्प नगरे अघि बढ्न नसकिने बताए ।