Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रञ्जिताको निर्देशन विपरीत सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन संसदीय दलको ‘ह्वीप’

नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र विवाद विग्रहतर्फ अघि बढ्दै गएको छ । बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएकाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र प्रमुख सचेतक खुशीराम डगौरा थारुका फरक––फरक ह्वीप जारी भएका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्ना सांसदहरूलाई मतदान नगर्न निर्देशन दिएकी छन् । उनले लिखितरूपमै बिहीबार मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन सांसदहरूलाई निर्देशन दिएकी छन् ।

‘नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालनलगायतका कार्यक्रम माननीय घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरेपनि प्रदेश सभाको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकाले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिनु’ पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जारी गरिएको ह्वीपपत्रमा भनिएको छ । तर, त्यसको लगत्तै प्रमुख सचेतक खुशीराम डँगौरा थारुले पनि अर्को ह्वीप जारी गर्दै मख्यमन्त्री कमलबहादुर शाहको विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन गरेका छन् ।

‘मिति २०८० चैत २२ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा माननीय कमलबहादुर शाह ज्यूले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्नका लागि अनिवार्य उपस्थित हुन् । अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ बमोजिम निर्देशन ९ह्वीप० जारी गरिन्छ,’ प्रमुख सचेतक खुसीराम डँगौरा थारुले जारी गरेको ह्वीपमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाह फागुनको २३ गतेदेखि अल्पमतमा छन् । ५३ सदस्यीय प्रदेश सभामा एकजनाको निधन भएकाले ५२ सदस्य छन् । जसमा कांग्रेसका १८, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका उपसभामुख सहित १०, नाउपाका ७ ९बुधबार एकजना कारबाही०, समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन् ।