Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

नेपाली काँग्रेसको आरोप - गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई लुकाए!

गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईलाई लुकाएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगाएको छ ।  

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै बोल्दै सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले सो आरोप लगाएका हुन् । “हामीले पाएको सूचनामा जीबी राई गृहमन्त्रीको सम्पर्कका हुनुहुन्छ । आकाश–पातालमा गएर लुक भनिदिने तर पक्राउ नगर्ने?,” उनले भने ।

प्रतिपक्षमा बस्दा रास्वपा सभापति लामिछानेले बोलेको स्मरण गराउँदै उनले भने, “माघ १६ गते मित्र रवि लामिछाने गृहमन्त्री हुनुहुन्न थियो । प्रतिपक्षमा हुनुहुन्थ्यो । बढो खरो स्वरमा बोल्दै सरकारले जीबी राईलाई पक्रन चाहेन भन्नुभयो ।” उनले गृह मन्त्रालयमा पुगेपछि लामिछानेको बोली फेरिएको आरोप लगाए । साथै उनले मलेसियामा भएको मान्छेलाई पक्राउ गर्न केले रोक्यो भन्ने प्रश्न गरे ।

उनले गृहमन्त्री लामिछानेलाई मलेसियाको कानुनबारे जानकारी दिँदै भने, “आज बोल्दै गर्दा भन्नुभयो आकाशमा होलान् पातालमा होलान् हामी लिएर आउँछौँ । मलेसियामा छन् दुनियाँँलाई थाहा छ । प्रहरी प्रमुखले राज्यव्यवस्था समितिमा भन्नुभयो सुपुदर्गीसम्बन्धी कानुन छैन भनेर । म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु । त्यहाँ भनिएको छ यदि कुनै पनि देशको कोही अभियुक्त भनेर सम्बन्धित देशले कूटनैतिक प्रकृयाबाट माग गर्‍यो भने सुदुदर्गी गर्न सकिन्छ ।”

उनले जीबी राईलाई लिएर आउने कुरामा के कारणले ढिलाई भएको हो? भन्दै प्रश्न गरे ।