Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गृहमन्त्री लामिछाने भन्छन्- सहकारी प्रकरणमा रास्वपा नेताहरुको नाम आउँदैमा आत्तिनु पर्दैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरूको जवाफ सदनमै उभिएर दिन पाउनु पर्ने बताएका छन् । आज मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सहकारीलगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हुन् ।

लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुराहरू सदनमा उठाउन पाउनुपर्ने विषयलाई आफूले सम्मान गर्ने भन्दै उनले आफूले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताएका हुन् ।

लामिछानले गृह मन्त्रालयको काम कारवाही, बिपत व्यवस्थापनको तयारी, भूकम्पपीडितको पुर्नवासलगायतका विषयमा समेत आफूले जवाफ दिन चाहिरहेको जिकिर गरे । उनले जाहेरी दिँदैमा सदनमा सबै विषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको धारणा राखे ।

रास्वपा सभापति समेत रहेका लामिछानेले पार्टीका अन्य नेताहरूको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी मात्रै भएको जिकिरि गरे । कसैमाथि प्रश्न उठ्दैमा आतिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले संसद बैठकमा सहकारी प्रकरणमा गृहमन्त्रीसँगै रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम आएको भन्दै उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरेका थिए ।