Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कांग्रेसको आरोप– ‘गृहमन्त्रीपछि रास्वपाकै श्रममन्त्री अर्याल पनि सहकारी ठगीमा जोडिए’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित अन्य नेताहरु समेत सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदमा प्रश्न खडा गरेको छ ।

यसअघि निरन्तर उपप्रधान एवं गृहमन्त्री लामिछानेको विषयमा आवाज उठाउँदै आइरहेको थियो । आजको बैठकमा गृहमन्त्री लामिछानेसहित श्रममन्त्री समेत रहेका रास्वपाका उपसभापति डोलप्रसाद अर्याल समेत सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै प्रश्न उठाएको हो ।

बैठकमा कांग्रेसका तर्फबाट बोल्दै सांसद रामकृष्ण यादवले भने, ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिन गर्दा तपाईँकै हितमा हुन्छ। संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने आधार छन्। यस विषयमा छानबिन भएर सत्यतथ्य बाहिर आओस्, तपाईँको संलग्नताको पर्याप्त आधार छन् छानबिन हुनुपर्छ त्यसको लागि समिति आवश्यक छ। अर्को सहकारी ठगीको विषयमा पनि आएका छ। जसमा रास्वपा उपसभापति तथा श्रममन्त्री डीपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी रकम फिर्ता नपाएको विषय छ। अर्याल मात्रै होइन रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि गोर्खा मिडियाका अध्यक्ष जिवी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्री लगायतको हो भन्ने आरोप छ ।’

यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगी प्रकरणमा जोडिएकाहरुका विषयमा संसदीय छानबिन समिति बनाएर छानबिन गर्ने बचन दिए पनि त्यो आश्वासनमा मात्र सिमित भएको भन्दै आक्रोश व्यक्त गरे ।


केही सञ्चारमाध्यममा श्रममन्त्री अर्याल समेत सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै समाचारहरु बाहिरिएका छन् । त्यस्तै प्रधानमन्त्री, आरोप लागेका गृहमन्त्री र प्रहरी प्रमुखले पनि अनुसन्धान नै नगरी दोषी नभएको भन्ने भनाइले अनुसन्धान नै प्रभावित भएको भन्दै कटाक्ष गरे ।