Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

भौतिक पूर्वाधार मन्त्रालय दिने मौखिक सहमती भएको छः नवनियुक्त मन्त्री मगर

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगरले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्।मंगलबार बिहान उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ दिलाएका हुन्।

मन्त्री आलेलाई एक हप्ताभित्रै जिम्मेवारी दिने मुख्यमन्त्री जम्मकट्टेलले प्रतिबद्धता जनाएका छन्। यद्यपी विना विभागीयको शपथ लिएकी आलेले भौतिक पूर्वाधार मन्त्रालयमा आफ्नो दाबी रहेको बताएकी छन्।

शपथ ग्रहण पश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आफूले पाउनुपर्ने बताएकी हुन्। उनले भनिन्, ‘काठमाडौं क्षेत्र नं–१० प्रदेश ‘ख’ को नागरिकले मलाई कामयावी मान्छेको रुपमा हेर्नुहुन्छ। त्यसो हुँदा म कामयावी मन्त्रालयको जिम्मेवारी लिन चाहन्छु। मैले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाउँनुपर्छ ।’

भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्षम रहेको बताएकी उनले आफूलाई मुख्यमन्त्रीले सो मन्त्रालयको जिम्मेवारी दिने मौखिक सहमती भएको बताएकी हुन् । नवनियुक्त मन्त्री आले काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।