बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेशसभामा उपस्थित कुल १०८ सदस्यमध्ये जम्कट्टेलको पक्षमा ५६ मत पर्यो भने विपक्षमा जम्मा ३७ मत खस्यो। यस्तै १५ सांसद तटस्थ बसे।
जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको हो। यस्तै राप्रपा र नेमकिपाका सांसद भने तटस्थ रहे। मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा (एस)का ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा)का १ सांसदले मतदान गरेका थिए ।
१६ महिनाको अवधिमा उनले तेस्रोपटक विश्वासको मत पाएका हुन् । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरण बदलिएपछि आज प्रदेशसभाबाट फेरि विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले यसअघि अघिल्लो वर्ष पुस २७ र चैत १० गते विश्वासको मत लिएका थिए ।