Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मधेसमा एसईई परीक्षामा चिट चोराइएको विषयको दोष सिडिओ, एसपी र निरीक्षकले लिनुपर्छः सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसईईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरु, एसपीहरु र निरीक्षकले लिनुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा एसईईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गरेका हुन् ।

उनले सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको बताएका हुन् । उनले सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिनुपर्ने बताए । उनले परिक्षालाई आवश्यक पद्धति र कडाइका साथ परिक्षा गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन आग्रह गरे ।

उनले भने – ‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गथ्र्यो । तर अहिले मधेस आफैँ एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दै छ । यसको दोष मधेसले किन खेप्दैछ रु काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ न त्यहाँ बनिहाल्छ । कोही एसईई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा ।

तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ । त्यो हामीले किन तिर्ने रु किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरिक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ ।

तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरु हुन् । त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिइयोस् ।

आवश्यक विधि, पद्धति र कडाइका साथ परिक्षा गरियोस् । ताकि यसको मूल्य भविष्यमा मधेसले तिर्नु नपरोस् ।उनले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटीका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि उनले स्पष्ट पारे ।