Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा। तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरु नियुक्त गर्न माग गरेकी छन् ।आईतवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी हुन ।

उनले वीर अस्पतालमा ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत जुन प्रक्रियामा भएपनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त हुनुपर्ने बताइन् । उनले अघिल्लो स्वास्थ्यमन्त्रीले एकैपटक २७६ जना स्वास्थ्यकर्मीलाई वीर अस्पतालबाट निकालेर अस्पतालको सेवा नै अलपत्र पारेको भन्दै नयाँ स्वास्थ्यमन्त्रीले सेवामा सुधार ल्याउने विश्वास व्यक्त गरीन् ।


उनले भनीन् – ‘वीर अस्पतालप्रति स्वास्थ्य मन्त्रालयको अघिल्लो नेतृत्वको नजर नपुगेको होइन, उहाँको नजर पुग्यो तर उनले अस्पतालको व्यवस्थापन नै ध्वस्त हुनेगरी एकैपटक २७६ जना स्वास्थ्यकर्मीहरुलाई निकालि दिए र अस्पतालको सेवा अलपत्र पारिदिए ।


आशा छ यस पटकका स्वास्थ्यमन्त्रीको ध्यान पुग्नेछ र अस्पतालको सेवामा सुधार ल्याउनुहुनेछ । म स्वास्थ्यमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु, एउटा यस्तो व्यवस्था गरियोस् जतिपनि देशभरीका अस्पतालहरुमा आइसियु बेड खाली छन्, कस्ता–कस्ता सेवाहरु दिइन्छन्, डाक्टरहरु कुन–कुन छन् भन्ने इन्फरमेशन हामीले वेवसाइटमार्फत् हेर्न सकियोस् ।

जहाँ नागरिकले फोन गरेर सोध्न, खोज्न सकुन् । वीर अस्पतालमा स्वास्थ्यकर्मी तत्कालै भर्ना गर्नुपर्नेछ । करारमा हुन्छ कि अथवा लोकसेवामार्फत् हुन्छ । ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको छ । तत्कालै यसलाई प्राथमिकतामा राखेर स्वास्थ्य मन्त्रालयले यो गरोस् भनेर अनुरोध गर्न चाहन्छु ।’


उनले कुनै वेवसाइटमार्फत अथवा कुनै माध्यमबाट देशभरका अस्पतालमा कस्ता कस्ता सेवाहरु दिइन्छन् र कति आइसियु बेड खालि छन् भन्ने हेर्न सकिने व्यवस्था गर्न समेत माग गरीन् ।