Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

बजेटमा कर्णालीलाई उपेक्षा गरिए आन्दोलन: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारले विकास निर्माणका सवालमा कर्णालीलाई उपेक्षा गरिएको टिप्पणी गरेका छन् ।

 आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कि त सरकारले कर्णालीलाई नेपालभित्र पर्दैन भनेर भन्नुपर्‍यो नभए यसरी उपेक्षा गर्न नमिल्ने बताए । 

उनले भने,‘सरकारले बजेटमा कर्णालीलाई कहिल्यै पनि प्राथमिकता दिंदैन । कि त कर्णाली नेपालमा पर्दैन भन्नुहोस दमका साथ । हामी तपाईंभन्दा दोब्बर बढि विकास गरेर देखाउँछौं । यदि नेपाल भित्र पर्छ भने अनावश्यकका प्रोजेक्टहरु नपठाउनुस् ।’ सरकारले कर्णालीको विकासका लागि दुई अर्ब रुपैयाँ बजेट विनियोज गर्न थुर्थुर काप्ने गरेको शाहीको आरोप थियो । 

उनले भने, कर्णालीमा दुई अर्ब बजेट विनियोजन गर्न सरकार किन थुर्थुर काँप्छ ? भिख मागेको होइन सभामुख महोदय । अधिकार चाहिएको हो । अधिकार खोस्ने हो ।’ आउँदो आर्थिक वर्षको बजेटमा पनि कर्णालीलाई सम्बोधन नगरे संसद र सडकमा आन्दोलन गर्ने उनको चेतावनी थियो ।