राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुले जतासुकै गठबन्धन गरे पनि विकासका साझा मुद्दामा सबै एक ठाउँमा हुनुपर्ने बताएका छन् ।तनहुँको देवघाटमा निर्माण हुने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै उनले लोकतन्त्रवादी तथा समाजवादीले भविष्यलाई स्वर्ग बनाउने बताए ।
उनले भने, ‘अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ । तर, हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौं ।’
विदेश पलायन भएर यहाँ केही नभएको भन्दै कुरा काट्नु पनि अनुचित भएको उनले बताए । गठबन्धन जो जता भए पनि विकासमा राजनीतिक दलका नेताहरु एक हुनुपर्ने उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको संगम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गरे ।