Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ । २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल हुन लागेको हो । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा तीन नेताबीच सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)का विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

टीआरसीका विषयमा सहमतिमा पुग्न नेताहरू छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो आयोजित एक कार्यक्रममा आफूले शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा देउवा र ओलीसँग छलफल गर्न लागेको बताएका थिए ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक परिषदको बैठक आइतबार बोलाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहन्छन् ।

प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेका बेला ओली संवैधानिक परिषदका सदस्य थिए भने अहिले देउवा सदस्य रहेका छन् ।