Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गृहमन्त्रीको निर्देशनपछि सादा पोशाकमा प्रहरी परिचालनमा रोक

प्रहरी प्रधान कार्यालयले मातहत कार्यालयलाई सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन दिएको छ । घुमुवा प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए ।

उक्त निर्देशनसँगै कार्यालयले सादा पोशाकमा खटिने प्रहरीको जिम्मेवारी परिवर्तन गर्न मातहत कार्यालयमा निर्देशन जारी गरेको हो । सादा पोशाकमा खटिएका प्रहरी कर्मचारीहरूलाई युनिफर्म ड्युटीको जिम्मेवारी दिन लागिएको हो ।

‘त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,’ कार्यालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ । प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, सातै वटा प्रदेश प्रहरी कार्यालय र सातै वटा नेपाल प्रहरी प्रदेश कार्यालयलाई परिपत्र गरेको हो ।