Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गगन थापाको दोस्रो चरणको संवाद यात्रा आजबाट सुरु

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आजदेखि सुरु गरेका छन् । आज बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका हुन् ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा आज, भोली र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुनेछ ।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्याहरू सुन्ने गरेका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ ।

सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्रा अन्तर्गत आज महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्नेछन् ।

आजै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुँदै बेथरी सम्म पुग्ने छ । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् । भोली १६ गते रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नेछ ।

थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ ।त्यसैगरी १७ गते बिहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले १७ गते सिक्टा सिँचाइ आयोजनाको अवलोकन गर्नुहुने र फत्तेपुरमा जनसंवाद गर्नेछन् ।