Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरे - गृहमन्त्री रवि लामिछाने

'सहकारीको अनियमिततामा मेरो संलग्नता नभएको छैन्'

गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताएका छन् । प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा सांसदले राखेको प्रश्नको जवाफमा गृहमनत्री लामिछानेले मन्त्रालयले यसबारे अध्ययन सुरु गरिरहेको जानकारी दिए ।  

“हतियार राख्ने विषयमा धेरै कुरा आयो । अहिले प्रारम्भिक रूपमा कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग भएको पाइएको छ,” गृहमन्त्री लामिछानेले भने, “हतियारको मालिक एउटा चलाउने अर्को व्यक्ति भएको पाइएको छ । हतियार चलाउने अख्तियार प्राप्त नभएको व्यक्तिको हातबाट पक्राउ परेको छ ।”

उनले यसबारे अदालतको आदेश आइसकेको भन्दै आवश्यक काम मन्त्रालयले सुरु गरिसकेको बताए । “यस्ता हतियार कति राखियो, विवरण मगाएका छौँ,” लामिछानेले भने । 

यस्तै, उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले सहकारीको अनियमिततामा आफ्नै संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।

जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक केही नभएको बताए । ‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’, उनले भने, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’

आफू सरकारमा आउनुभन्दा पहिला नै कांग्रेस संलग्न सरकार भएको बेला आफ्नो नाम उल्लेख भएको पूरक जाहेरीलाई प्रहरीले सूचनाको रुपमा लिएको उनले बताए ।