Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सांसद बडुको प्रश्न: सहकारीको एक करोड जम्मा भएका रवि हाम्रै गृहमन्त्री कि नाम मात्र मिलेको?

‘विनोद चौधरीमाथि छानबिन भइरहेको छ भनेर सभामुखलाई कुन कानुनले चिठी दिइयो?’

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् । राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडुले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुचवाला नेता भएपनि छानविनको दायरामा आउनुपर्ने बताए ।

बडुले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको उल्लेख गर्दै यो के हो भन्दै प्रश्न गरे । उनले भने, ‘छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुदैनथ्यो । रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ । नाममात्र मिलेको हो कि के हो ?’ बडुले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिनेबेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए ।  त्यस्तै, सांसद बडुले सुन तस्करी प्रकरण सम्बन्धि छानविन समितिको रिपोर्ट समेत सार्वजनिक गरिनुपर्ने बताएका छन् । 

आज बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै बडुले भने, ‘नयाँ सरकार बनेपछि सुन तस्करी सम्बन्धि एउटा तदारुकता देखिएको छ । तर, अनुसन्धनको रिपोर्टमा के थियो सार्वजनिक भएको छैन, त्यो रिपोर्ट सार्वजनिक भए एउटा अवस्था तय हुने थियो ।’

उनले आफ्ना सांसद बिनोद चौधरीमाथि छानविन भएको विषयमा पनि प्रश्न गरेका छन् । ‘कानुनी राज्यमा कसैमाथि पनि छानबिन नहुने भन्ने हुँदैन । तर संघीय सांसदमाथि छानबिन हुँदैछ भन्ने चिट्ठी सभामुखलाई दिइएको भन्ने आयो । यो कुन नियम र कानुनबाट गराइयो?’ उनले प्रश्न गरे, ‘यदि पक्राउ गरेको जानकारी आयो भने जानकारी गराउनु पर्छ भन्ने व्यवस्था थियो । संविधानमा व्यवस्था नभएको कुरा अनुसार कसैमाथि छानबिन हुँदैछ भनेर किन जानकारी गराइएको हो? के मिनिङ हो यसको? हामी बुझिरहेका छैनौँ । किन यो चिट्ठी लेख्ने काम भयो?’


उनले सहकारी मुद्दामा फरार व्यक्तिह रुकहाँ छन् सरकारले सार्वजनिक गर्नुपर्ने बताएका छन् । ‘यसमा स्पष्ट गर्न मिल्ने जति गरिदिनुस् । जनताले राखेको पुँजी अपचलन भएको छ । छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुँदैनथ्यो? रवी लामिछानेको नाममा पनि एक करोड त्यो रकम आएको भन्ने छ । हाम्रा गृहमन्त्रीसँग नाम मात्र मिलेको हो कि के हो?’ प्रश्न गर्दै उनले भने, ‘हाम्रो अहिलेको माननीय गृहमन्त्री ज्यु पनि त्यै नामको हुनुहुन्छ । यदि त्यो नाम गरेको उहाँ नै हो भने उहाँले छानबिन नसकिने बेलासम्म जिम्मेवारी बाट बाहिर गए हुन्थ्यो भन्ने हाम्रो कुरा हो । अहिलेको आवश्यकता नै त्यति हो ।’ उनले जतिसुकै पहुचवाला नेता भएपनि छानबिनको दायरामा आउनु पर्ने र सरकारले त्यसको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।