Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत थमसनबीच भेटवार्ता, के भयो कुराकानी?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डेयन आर थमसनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देनलाई भेट्न राजदूत थमसन राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए ।

अध्यक्ष लिङ्देन र राजदूत थमसनबीच बुधबार बिहान शिष्टाचार भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । भेटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण छलफल भएको उनले बताए । कुराकानीका क्रममा अमेरिकी संसदमा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानीसम्बन्धी छलफल भएको विषयमा अध्यक्ष लिङ्देनले जिज्ञासा राखेका थिए ।

राजदूत थमसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको अध्यक्ष लिङ्देनलाई जबाफ दिएका थिए । अमेरिकी सहयोग विभिन्न क्षेत्रको अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रीत रहेको उनले बताएका थिए । नेपालको धार्मिक सद्भाव, एकता उत्कृष्ट रहेको विचार राख्दै नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका मूर्तिहरु नेपाल फिर्ता गरी सम्बन्धित मठ मन्दिरमा पुनःस्थापना गर्ने अमेरिकी नीति रहेको राजदूत थमसनले बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।