Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गृहमन्त्रीलाई सांसद पन्तको प्रश्नः दुर्गा प्रसाईले अत्याधुनिक हतियार बोकेर हिंड्नु उचित हुन्छ?

सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले दुर्गा प्रसाईका अङ्गरक्षकलाई अत्याधुनिक हतियार राख्न दिइएको विषयमा संसदीय समितिमा प्रश्न उठाएका छन् । प्रसाईका अङ्गरक्षकबाट प्रहरीले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ गरेको थियो ।

आज बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पन्तले उक्त प्रश्न उठाएका हुन् । समितिको आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ । ‘दुर्गा प्रसाईका अङ्गरक्षकबाट हतियार बरामद भयो । त्यस्तो हतियार राख्न कसरी दिइयो,’ पन्तले प्रश्न गरे ।


प्रसाईले राखेको हतियार देख्दा हतियार राख्न दिने व्यवस्थामा पुनर्विचार गर्नुपर्ने पन्तको भनाइ छ । ‘संसारका विभिन्न मुलुकमा ठूला हत्याकाण्ड भएको अवस्थालाई विचार गर्नुपर्छ । त्यस्ता हतियार कतिलाई दिइएको छ? दुर्गा प्रसाईंलाई दिएको हतियार हेर्दा हतियार दिने व्यवस्थामा पुनर्विचार गर्न आवश्यक छ,’ उनले भने ।

गुप्तचर निकाय गृह मन्त्रालयमातहत नभएकाले गृहमन्त्रीले सुरक्षासम्बन्धी सबै प्रश्नको जवाफ दिन नसक्ने अवस्था आउन सक्ने उनको भनाइ छ । ‘अहिले गुप्तचर निकाय गृहमन्त्री मातहत छैन, गृहमन्त्रीले भोलि घटना भयो भने मेरो मातहत गुप्तचर निकाय छैन भन्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘गुप्तचर निकायलाई प्रधानमन्त्री मातहत राखिएको छ ।’

तराईमा बसोबास गर्ने नागरिकहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘तराईका जिल्लाहरूमा पारिबाट अपराधीहरू आएर घटना घटाउने गरेका छन् । त्यहाँका जनताको सुरक्षामा ध्यान दिन आवश्यम छ,’ उनले भने, ‘हाम्रो सिमानामा राखिएका सुरक्षा पोष्टको अवस्था के छ त्यसको अवस्था हेरेर बलियो बनाउँन आवश्यक छ ।’ सीमा सुरक्षाबारे पन्तले भने, ‘दशगजामा भारतले सुरक्षा पोष्ट बनाउने गरेको छ, सीमा सुरक्षाको अवस्था कस्तो छ?’